07 Oct
सूचना

अमर ज्योति पूर्व विद्यार्थी समाज-साजा को अनुरोध

07 Oct, 2026

हाम्रो विद्यालय “अमर ज्योति जनता मा. वि.” अर्थात् “लुईंटेल-स्कूल” हामी सबै पूर्व विद्यार्थीहरूको आस्थाको धरोहर हो।  साथै “अमर ज्योति पूर्व विद्यार्थी समाज-साजा” हाम्रो विद्यालयबाट २०२२ सालदेखि हालसम्म दीक्षित लगायत कम्तिमा १ शैक्षिक सत्र पूरा गरेका सबै पूर्व-विद्यार्थीहरूको साझा चौतारी हो । आफ्ना परिस्थितिजन्य कारणले गर्दा हाम्रा गुरू भाई/बहिनीहरू एवं गुरूजनहरू देश तथा विदेशका विभिन्न गाउँ तथा शहरहरूमा छरिएर रहेको यथार्थ हामी सबैलाई विदितै छ। यद्यपि आफ्ना गुरूजनहरू, सहपाठीहरू तथा अग्रज एवं अनुज पुस्ताहरू एक आपसमा भेट हुँदाको अवसरमा  ब्यक्त हुने आत्मियता, सौहार्द्धता एवं प्रशन्नताको अनुभव हामी सबैले गर्दै आएको नै कुरा हो । तर यस्ता अवसरहरूको संयोजन सहज नभए पनि आकांक्षा भने सबैको रहेको विश्लेषण हाम्रो रहेको छ ।

साजा कार्यसमितिले हाम्रो विद्यालयका पूर्व विद्यार्थीहरू को, कहाँ र के गर्दैछौं भन्ने जानकारी लिने प्रयासको थालनी गरेको छ । यस कार्यकोलागि साजा-कार्यसमितिले संचालनमा ल्याएको वेभ-साइटमा अनलाइन “ब्यक्तिगत परिचय फारम र साजा सदस्यता फारम” अपलोड गरेको छ । यस अवसरमा सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई यथाशिघ्र उक्त फारम भरी सहयोग गरिदिनुहुन अनुरोध छ । यससंगै २०२२ देखिका सबै ब्याचको लिष्ट पनि अपलोड गरिएको ब्यहोरा जानकारी गराउँदै सम्भव भएसम्म आफ्ना ब्याचका साथीहरूलाई समेत सहभागी गराउन सहयोग गर्नुहुन अनुरोध छ । यसरी प्राप्त हुने विवरणबाट साजा-डाइरेक्टरी तयार गर्न सहज हुने विश्वाश कार्यसमितिले लिएको छ ।

यस बाहेक साजाका विविध गतिविधिहरू सञ्चालन् गर्न र विद्यालयको शैक्षिक सुधारकालागि सहयोग गर्न कार्यसमितिलाई दीगो आर्थिक श्रोतको आवश्यकता पर्दछ । यसकालागि कार्यसमितिले निम्न कार्यक्रमहरू अगाडि सारेको छ ।

  • बढी भन्दा बढी पूर्व-विद्यार्थी (दाजुभाई, दिदीबहिनी) हरूलाई साजाको सदस्यता लिन आग्रह गर्ने ।
  • “१ वर्षमा १ दिन, मेरो विद्यालयलाई”- अभियान संचालन गर्ने ।
  • “अमर ज्योति-अक्षय कोष” संचालनमा ल्याउने ।
  • विभिन्न सरकारी तथा गैरसरकारी निकायहरबाट कार्यक्रमहरू लिई संचालन गर्न प्रयास गर्ने।

यस वाहेक साजा कार्यसमितिले विद्यालयमा “पूर्व विद्यार्थी-पुनर्मिलन कार्यक्रम” आयोजना गर्ने योजना समेत बनाएको ब्यहोरा अनुरोध गर्दै यसमा यहाँहरूको सुझावको समेत अपेक्षा गरिएको छ ।

साजाका अग्रज पुस्ताको सीप र अनुभव अनि अनुज पुस्ताको जोस र जाँगरको सदुपयोग गरी ब्यक्तिगत, सामुहिक साथै देशकै हितकालागि कार्य गर्न सकिने विश्वासकासाथ वर्तमान कार्य समिति अगाडि बढेको ब्यहोरा जानकारी गराउदै संबन्धित सबैको सक्रिय सहयोगकोलागि विशेष अनुरोध छ ।

साजा कार्य समिति-२०८२